आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गरेको छ ।
यो जितसँगै घरेलु टोली नेपालले सुपर- ६ पुग्ने सम्भावना जिवित राखेको छ । लगातार २ खेलमा पराजित भएको नेपाली टोलीले तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको हो । आज भएको खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो । लगातार चौथो खेलमा हार भोगेसँगै जिम्बाबे समूह चरणबाट अंकविहीन रुपमा बाहिरिएको छ ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाबेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले ३ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि उपकप्तान पुजा महतो ५२ र रुविना क्षेत्री २ रनमा अविजित रहे । पुजाले ५० बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरिन् । ओपनर विन्दु रावल १५ रनमा एलबीडब्लु धरापमा परिन् । कप्तान इन्दु बर्मा २२ रन बनाउँदा बोल्ड आउट हुन पुगिन् । सिता रानामगर ११ रन बनाउँदा रिटायर्ड हर्ट भइन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि रिया शर्माले २ विकेट लिइन् । कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे । जिम्बाबेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन् । विलभ्ड विजाले ३४ रन बनाए ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले तथा नेदरल्यान्डससँग २ रनले पराजित भएको थियो । नेपालले अब सुपर-६ खेल्न पुग्न समूह चरणको अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । नेपालले सो खेलमा स्कटल्यान्डलाई हराउँदै नेट रनरेटनमा बलियो रहे सुपर-६ मा स्थान बनाउनेछ ।