एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति एनसेलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण भएको नपाईएको पनि स्पष्ट पारिएको छ ।
घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराईएको छ । एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको पनि विज्ञप्तिमा जनाइएको छ ।
‘एनसेलले प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लंघन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गर्दै आएको छ । सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा, एनसेल ग्राहकको डाटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
एनसेलमा ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको पनि एनसेलले जनाएको छ । ‘एनसेल एक जिम्मेवार सेवा प्रदायकका रूपमा सधैं प्रचलित कानूनको पालना गर्दै आफ्ना ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै निरन्तर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।