न्यु डायमण्डलाई एक सातामै दोश्रो उपाधि

Yangle News
Yangle News
२०८२ पुस २६ गते
न्यु डायमण्डलाई एक सातामै दोश्रो उपाधि

नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले जितेको छ ।

न्यू डायमण्डले एक साताअघि भएको एनभिए च्याम्पियनसिपको फाइनलमा पनि पुलिसलाई हराउँदै उपाधि जितेको थियो । दुवै प्रतियोगितामा अपराजित रहँदै न्यू डायमण्ड च्याम्पियन बनेको हो ।

आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहल सम्पन्न फाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै न्यू डायमण्ड च्याम्पियन बनेको हो । फाइनलमा न्यु डायमण्डले पहिलो, दोश्रो र चौथो सेट क्रमशः २५-२३, २५-१८ र २७-२५ ले जित हासिल गरेको हो । तेश्रो सेट भने २५-१५ ले गुमाएको थियो ।

विजेता डायमण्डले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५० हजार प्राप्त गर्‍यो । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो भएको छ । आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो भएको हो । दुवै टोलीले क्रमशः १ लाख २५ हजार र ६२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।

विधागत पुरस्कारमा पनि न्यू डायमण्डकै बर्चस्व रहेको छ । न्यु डायमण्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । यो उपाधिसहित उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् । न्यु डायमण्डकी सुमित्रा रेग्मी बेस्ट बल्कर र बेस्ट सेटरको उपाधि न्यु डायमण्ड प्रगति नाथले जितिन् । यस्तै न्यु डायमण्डका कुमार उत्कृष्ट प्रशिक्षक बने ।

एपिएफकी मिना सुनुवार बेस्ट स्पाइकर तथा नेपाल पुलिसकी शान्ति कला तामाङ बेस्ट लिबेरो र पुलिसकी पुनम चन्द बेस्ट सर्भर बनिन् । उत्कृष्ट बन्न सफल खेलाडी र प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।