नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगितामा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको पहिलो खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । केही दिनअघि मात्र नवौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिप जितेको न्यु डायमन्डलाई आर्मीले कुनै पनि सेटमा चुनौती दिन सकेन ।
न्यु डायमन्डले खेलको नतिमा २५-१६, २५-१५ र २५-१७ ले आफ्नो पक्षमा बनाएको हो । न्यु डायमण्डकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन् ।
दोस्रो खेलमा पुलिसले एपिएफ क्लबलाई३-० कोसोझो सेटमा हराएको छ । पुलिस २५-२२-२५-२० र २५-२१ ले विजयी भएको हो । पुलिसकी पुनम चन्द प्लेयर अफ दि म्याच घोषित भएन् ।
राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीलेफाइनल र पुछारमा दुई टोली तेस्रो स्थानकालागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख, दोस्रोले २ लाख ५० हजार , तेस्रो टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता उद्घाटनका क्रममा आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले राष्ट्रिय महिला भलिबल टोली तथा टिपटप न्यु डायमण्ड क्लबकी सदस्य सुमित्रा रेग्मीलाई स्पेसल अवार्डबाट सम्मान गरेको छ । उनी नगद ५० हजारसहित सम्मानित भएकी हुन् । प्रतिष्ठानले हरेक संस्करणमा एक जना खेलाडीलाई स्पेशल अवार्ड प्रदान गर्दै आएको छ ।
भोलि पनि दुई खेल हुने तालिका छ । १:३० बजे सुरु हुने पहिलो खेलमा पुलिस र आर्मी तथा ३:३० बजे सुरु हुने दोश्रो खेलमा न्यू डायमन्ड र एपीएफ प्रतिस्पर्धा गर्नेछन् ।