कोशीमा मन्त्री हेरफेर, ८ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

Yangle News
Yangle News
२०८२ पुस २२ गते
कोशीमा मन्त्री हेरफेर, ८ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल हेरेफेर गरेका हुन् ।

सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ । सरकारमा दुवै दलबाट ४-४ जना मन्त्री र १-१ जना राज्यमन्त्री बनाइएको छ ।

नवनियुक्त मन्त्रीहरूमा प्रदीप कुमार सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र तिलचन पाठकलाई खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, विदुर कुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय र राम प्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मानबहादुर लिम्बुलाई स्वास्थ्य मन्त्रालय र इस्माइल मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

यसैगरी राज्यमन्त्रीका रूपमा उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र शोभा चेम्जोङलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा नियुक्त गरिएको छ ।