नेकपा एमालेको नयाँ नेतृत्व चयनका मतदान शुरू भएको छ । बुधबार बिहान सवा ९ बजेतिरबाट मतदान शुरू भएको हो ।
यसअघि बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि अध्यक्ष केपी शर्मा ओली मतदानस्थल पुग्न ढिला गरेकाले भोटिङ पक्रिया शुरू हुन सकेको थिएन । ओली पुगेसँगै मतदान शुरू भएको हो । मतदाता भने बिहान ७ बजेदेखि नै लाइनमा लागेका थिए । मतदान सम्पन्न हुन कम्तीमा ६ देखि ८ घण्टा लाग्ने बताइएको छ ।
मतदानलगत्तै मतगणना शुरू हुनेछ । मतगणना भने २ घण्टाभित्र सकिने अनुमान छ । एमालेको नेतृत्व चयनका लागि हुने मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ ।
ओली र पोखरेल प्यानलसहित मैदानमा उत्रिएका छन् । ओली प्यालनको उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल छन् ।महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल छन् ।
यसैगरी, सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की छन् ।
पोखरेलको प्यानलमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ छन् । यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार बनेका छन् ।
यसैगरी, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकालको उम्मेदवारी छ ।