सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र सम्वाद गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद बैठकले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आई-टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २०० तथा भारतीय रुपैयाँ ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्ने व्यवस्था गरेको मन्त्री खरेलले जानकारी दिए ।