हङकङको ताई पो क्षेत्रमा रहेको ‘वाङ फुक कोर्ट’ हाउसिङ कम्प्लेक्समा बुधबार दिउँसो भीषण आगलागी भएको छ । घटनामा एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
प्रारम्भमा ४ जनाको मृत्युको जानकारी आएको भए पनि पछिल्लो अद्यावधिक विवरणमा मृतक संख्या बढेर १३ पुगेको हो । आगलागी दिउँसो २ बजेर ५१ मिनेट जाँदा भएको हो । आठ ब्लकसमेत रहेको वाङ फुक कोर्टमा करिब २ हजार फ्ल्याट छन् । आगलागीको सूचना पाएपछि अग्निनियन्त्रक टोली तत्काल घटनास्थल पुगेको थियो ।
आगलागी नियन्त्रणमा लिनका लागि साढे ७ सयभन्दा बढी अग्निनियन्त्रक खटिएका छन् । केही व्यक्तिहरू अझै आगलागीमा फसेका अनुमान गरिएको छ ।
हङकङ सरकारले आयोजित पत्रकार सम्मेलनमा आगलागीमा मृतकबाहेक २८ जना घाइते भएको जानकारीसमेत सार्वजनिक गरिएको छ । घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको जनाइएको छ ।