भूमि समस्या समाधान आयोगमा १२ लाख १९ हजार परिवारको निवेदन

Yangle News
Yangle News
२०८२ साउन १६ गते
भूमि समस्या समाधान आयोगमा १२ लाख १९ हजार परिवारको निवेदन

भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी भूमिहीनको निवेदन परेको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिएका हुन् ।

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको उक्त मात्रामा निवेदन आयोगमा प्रविष्ट भएको स्पष्ट पारे । । उनका अनुसार तीमध्ये ८९ हजार १४४ जना भूमिहीन दलित, एक लाख ६८ हजार ८८८ भूमिहीन सुकुम्बासी तथा आठ लाख ७५ हजार १६४ अव्यवस्थित बसोबासी परिवारको निवेदन आयोगमा प्रविष्ट भएको हो । अध्यक्ष रिजालले विभिन्न समयमा विभिन्न आयोगहरू बनेर त्यसमा परेका अन्य ८६ हजार ४०० परिवारको व्यवस्थापनको जिम्मेवारी आयोगमा आएको बताए ।

‘हामीलाई हालसम्म प्राप्त तथ्यांकको आधारमा ८९ हजार १४४ भूमिहीन दलित परिवारको निवेदन आएको छ । त्यसैगरी भूमिहीन सुकुम्वासी एक लाख ६८ हजार ८८८ परिवारको निवेदन परेको छ । अव्यवस्थित बसोबासी आठ लाख ७५ हजार १६४ परिवारको प्रविष्ट भएका छन् । सबै गर्दा ११ लाख ३३ हजार ९६ परिवारको निवेदन प्रविष्ट भएको छ । विभिन्न समयमा विभिन्न आयोगहरू बनेर त्यसका अधुरा-अपुरा संख्याहरू पनि छन् । ८६ हजार ४०० त्यो संख्या छ । त्यो संख्या पनि जोड्दा हामीकहाँ १२ लाख १९ हजार ५९६ परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी आएको छ,’ उनले जानकारी दिए ।

उनले विधेयक पास भए पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउन समस्या आउनसक्ने बताए ।