काठमाडौँ कलिङ लिटरेरी फेस्टिवलको आयोजनालाई लिएर एनसीआरएस र एनडीआरआईकाे आपत्ति

Yangle News
Yangle News
२०८१ भदौ १७ गते
काठमाडौँ कलिङ लिटरेरी फेस्टिवलको आयोजनालाई लिएर एनसीआरएस र एनडीआरआईकाे आपत्ति

 

सूर्तीजन्य पदार्थ उत्पादक कम्पनीको मुख्य प्रयोजनमा यही भाद्र २२ र २३ गते ललितपुरस्थित होटल हिमालयमा हुन लागेको सूर्य नेपाल काठमाडौँ कलिङ लिटरेरी फेस्टिवलको आयोजनालाई लिएर नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)  ले आपत्ति जनाएका छन् । संयुक्त वक्तव्य जारी गर्दै आयोजक यशस्वी पज्ञा प्रतिष्ठान र भारतको कलिंङ लिटरेरी फेस्टिवलको ध्यानाकर्षण गराइएको हो ।

नेपाल भारत, भुटान, बंगलादेश र श्रीलंका लगायतका देशका साहित्यकारहरुको सहभागिता रहने लिटरेरी फेस्टिवलमा चुरोट उत्पादक कम्पनी सूर्य नेपालको लोगो सहितको नाम राखि विज्ञापन गरिनु कानून विपरीत रहेको विज्ञप्तीमा उल्लेख छ । कानून विपरीत कार्य नगर्न र नियम विपरीत हुन गइरहेको कार्यक्रममा सहभागी नहुन संस्थाहरुले आयोजक र सहभागीहरुलाइ अपिल गरेको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) का महासचिव दीपेन्द्र बान्तवा र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) कार्यक्रम संयोजक डाक्टर जयकुमार गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ,  सरकारले सूर्तीजन्य पदार्थको न्यूनीकरण, नियन्त्रण तथा नियमनका लागि सूर्तीजन्य पदार्थ ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०६९ समेत कार्यन्वयनमा ल्याइसकेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइनेसम्बन्धी भनिएको छ, ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेल जस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्पेषण वा प्रायोजन गर्न पाउने छैन ।’

यसैगरी सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ मा संस्थागत सामाजिक उत्तरदायित्वको नाममा काम गर्न नपाउने कुरा स्पष्ट उल्लेख गरिएको छ । जसको उपदफा २ र ८ मा भनिएको छ, ‘सरकारी वा गैरसरकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग गर्न पाउने छैन । कसैले पनि उत्पादकलगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउने छैन । उत्पादकलगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन ।’

साथै सार्वजनिक व्यक्तित्वहरुले पनि यस्ता सूर्तीजन्य उद्योगबाट प्रायोजित बैठक, भ्रमण, तालिम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रममा सहभागिता स्वीकार गर्न नहुने २०७१ को निर्देशिकाले उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोजकले फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सहभागी गराउने भनी प्रचार गरिएको छ । कानून कार्यन्वनयमा प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुले नै कानूनको कार्यान्वयन नगरी धज्जी उडाउनु विडम्बना हो ।’

यसका बावजुद पनि सूर्य टोबाकोले सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौँको मुटुमा यस खालको कर्यक्रमको अयोजनाको तयारी गर्नु निन्दनीय रहेको उल्लेख छ । सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि गरिएका व्यवस्थाहरु कडाइका साथ लागू गर्न पनि संस्थाले सरकारसँग माग गरेको छ । यसअघि गत फाल्गुनमा पोरखारमा भएको नेपाल लिटरेचर फेस्टिभल २०२४ मा पनि चुरोट उत्पादक कम्पनी सूर्य टोबाको नेपालको प्रायोजन रहेको विषयमा एनसीआरएस र एनडीआरआईले आयोजकको ध्यानाकर्षण गराएका थिए ।

नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जना अर्थात् प्रतिघण्टा ४ जनाले ज्यान गुमाइरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ । सूर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरु जस्तै क्यान्सर, स्वासप्रश्वाससम्बन्धी रोगहरुलगायत विभिन्न र फोक्सोसम्बन्धी रोगहरु लाग्ने गरेको छ ।