नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, एक सातामा १ सय ४० अंकको बृद्धि

Yangle News
Yangle News
२०८० जेष्ठ १० गते
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, एक सातामा १ सय ४० अंकको बृद्धि

 

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७औं दिन पनि लगातार वृद्धि भएको हो ।

७ कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से १४०.८१ अंकले वृद्धि भएको छ । आज नेप्सेमा वित्त कम्पनी, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकमा गिरावट हुँदा अन्य उपसूचकहरु भने बढेका छन् ।

हाइड्रोपावर उपसूचक ०.३१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.२१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी सर्वाधिक ०.४५ प्रतिशतले गिरावट भएको छ ।

उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ । मंगलबार १४ फागुन २०७९ यताकै उच्च २ अर्ब २० करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकममा केही संकुचित भएको हो ।

बुधबार ३४ हजार ८ सय ४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता सूचीकृत धितोत्रप किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै करिब १४ करोड ६५ लाखको कारोबार हुँदा नेशनल लाइफको करिब ७ करोड ७५ लाख र हिमालयन डिस्टलरीको ५ करोड ८१ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २ सय २१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ ।

345 views