दुर्गा प्रसाईं समूहले सरकारलाई बुझायो २७ बुँदे मागपत्र

Yangle News
Yangle News
२०८२ कार्तिक २६ गते
दुर्गा प्रसाईं समूहले सरकारलाई बुझायो २७ बुँदे मागपत्र

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार गृहमन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ । प्रसाईं समूहका तर्फबाट माधव प्रसाद खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाएका हुन् ।

मागपत्रमा निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षकको मासिक तलब न्यूनतम एक लाख हुनु पर्ने तथा जीवन निर्वाहका लागी पर्याप्त तलब हुँदा समेत भ्रष्टाचारमा संलग्न भएको पाइए जागिरबाट निकाली आजीवन कारावासको कानुन निर्माण हुनु पर्ने उल्लेख छ । उक्त समूहले तत्कालीन सरकारका सबै उच्च पदस्थ नेताहरूलाई पक्राउ गरी छानबिन को दायरामा ल्याउनु पर्ने माग पनि राखेका छन् ।

मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजका लागि सकिएको छ । मागपत्रमा देशको राजनीतिक, आर्थिक र सामाजिक संरचना पुनःनिर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् । संविधान खारेज, राजसंस्थाको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाजस्ता मागहरू प्रमुख रूपमा समावेश छन् ।

प्रसाईं समूहले पहिलो बुँदामा ‘नेपाल नेपालीले नै बनाउने र व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाइनु पर्ने’ माग अघि सारेको छ । त्यस्तै, वर्तमान संविधान खारेज गरी बौद्ध, किराँतसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गर्नुपर्ने र उक्त विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने माग पनि राखिएको छ । मागपत्रमा प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला पुरानै स्वरूपमा पुनःस्थापना गर्नुपर्ने भनिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीबीच स्पष्ट छुट्याउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ । आर्थिक पक्षमा, सीपअनुसारको रोजगारी नेपालमै सिर्जना गर्नुपर्ने र खाडीका जेलमा रहेका करिब ७ हजार नेपाली युवालाई सरकारको पहलमा स्वदेश फिर्ता गराउनुपर्ने माग पनि समावेश गरिएको छ ।

सहकारी र लघुवित्तसँग सम्बन्धित मागहरूमा, सर्वसाधारणले लिएको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण २५ किस्तामा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रसाईं समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा शासन व्यवस्था, धार्मिक स्वतन्त्रता, आर्थिक सुधार र नागरिक अधिकारका विषयलाई जोड दिइएको छ ।

गृहमन्त्रालयसँगको वार्ता आज सकिए पनि आगामी दिनमा मागहरूबारे थप छलफल हुने बताइएको छ ।

मागपत्र :

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News