ट्रम्प र सीबीच भेटवार्ता : के-के भयो सम्झौता ?

Yangle News
Yangle News
२०८२ कार्तिक १३ गते
ट्रम्प र सीबीच भेटवार्ता : के-के भयो सम्झौता ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियाको बुसान सहरमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

यो भेटमा दुई देशबीचका सम्बन्ध सुधार र विश्वका प्रमुख मुद्दाबारे विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै नेताले युक्रेन संकट समाधानका लागि संयुक्त पहल गर्ने सहमति जनाएका छन् । ट्रम्पले सञ्चारकर्मीहरूसँग भने, ‘युक्रेनबारे लामो र गम्भीर छलफल भयो । हामी दुवै मिलेर केही ठोस नतिजा निकाल्ने प्रयास गर्नेछौं ।’

उनले ताइवानबारे भने कुनै चर्चा नभएको बताए । बैठकमा व्यापार र शुल्क सम्बन्धी विषय प्रमुख एजेन्डा बनेको थियो । ट्रम्पका अनुसार दुई देशबीचको व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भएको छ, केही अवरोध हटाइएका छन् । ‘हामीले लगभग सबै विषयमा सहमति गरेका छौँ । चीनमाथिको हालको शुल्क दर ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशत गरिएको छ,’ ट्रम्पले बताए ।

दुवै नेताबीच अमेरिकी प्रविधि कम्पनी एनभिडियाका चिप्स, चीनको दुर्लभ खनिज आपूर्ति र फेन्टानिल रोकथामबारे पनि छलफल भएको थियो । ट्रम्पका अनुसार, चीनले फेन्टानिलको अवैध प्रवाह रोक्न ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ । यससँगै अमेरिकाले फेन्टानिलसम्बन्धी शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याएको छ । भेटपछि ट्रम्पले सीसँगको वार्तालाई ‘अद्भुत र उपयोगी’ रहेको भन्दै थपे, ‘हामीले धेरै महत्वपूर्ण निर्णयमा निष्कर्ष निकालेका छौं, जसले दुवै देशबीचको सम्बन्ध नयाँ दिशातर्फ लैजानेछ ।’

ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने बताएका छन् । राष्ट्रपति सी पनि त्यसपछि अमेरिकाको भ्रमण गर्ने योजना रहेको बताइएको छ । यसबीच, बेइजिङस्थित थिङ्क ट्यांक ‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेशन’ का संस्थापक वाङ हुइयाओले अमेरिकालाई ‘शीतयुद्ध मानसिकता’ त्यागेर चीनसँग सहकार्यमा अघि बढ्न सुझाव दिएका छन् । उनले भने, ‘व्यापार र शुल्क युद्धले कसैको फाइदा गर्दैन, अब बराबरी र निष्पक्ष सम्बन्धतर्फ फर्किनु आवश्यक छ ।’

एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘युक्रेनबारे लामो छलफल भयो । हामी दुवै मिलेर केही ठोस काम गर्न सकिन्छ कि भनेर प्रयास गर्नेछौं,’ ट्रम्पले भने । तर उनले थपे, ‘ताइवानबारे कुरा नै भएन ।’

Yangle News

ट्रम्पले अमेरिकी आणविक हतियार परीक्षण पुनः सुरू गर्ने आफ्नो भनाइ दोहोर्‍याए । ‘सबैजना अहिले परीक्षण गरिरहेजस्तो लाग्छ । हाम्रै देशसँग सबैभन्दा धेरै आणविक हतियार छन्, तर हामीले वर्षौंअगाडि परीक्षण रोक्यौं,’ उनले भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने बताएका छन्, तर उनले थप विवरण दिएका छैनन् । चिनियाँ राष्ट्रपति सी पनि त्यसपछि अमेरिकाको भ्रमण गर्नेछन् । ट्रम्पले व्यापार सम्झौतामा प्रगति भएको संकेत पनि दिएका छन् । ‘हामी छिट्टै सम्झौतामा पुग्नेछौं भन्ने लाग्छ, ठूला बाधा धेरै छैनन्,’ उनले भने । उनले थपे, ‘हामीसँग सम्झौता छ, र हरेक वर्ष त्यसलाई पुनःसम्झौता गर्नेछौं ।’