काभा कप भलिबलमा नेपाल पाँचौं, माल्दिभ्सविरुद्ध मात्र विजयी

Yangle News
Yangle News
२०८२ कार्तिक ११ गते
काभा कप भलिबलमा नेपाल पाँचौं, माल्दिभ्सविरुद्ध मात्र विजयी

बंगलादेशमा भएको सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पाँचौं स्थान हासिल गरेको छ ।

ढाकाको मिरपुरस्थित शहिद सुह्रवर्दी इन्डोर रंगशाला आज बिहान पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गर्यो । नेपालले सुरुआती दुई सेट २९-२७, २५-२० ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले ३५-३७ ले गुमायो । चौथो सेटमा नेपाल २५-१९ ले विजयी भयो ।

माल्दिभ्स ६ टोली सहभागी प्रतियोगितामा अन्तिम भएको छ । प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक हराएको हो । लिग चरणमा पनि नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । लिग चरणमा नेपालले तुर्किमिनिस्तान, अफगानिस्तान र श्रीलंकासँग समान ३-० तथा बंगलादेशसँग ३-२ सेटको हार बेहोरेको थियो ।

प्रतियोगिताको उपाधि भने तुर्किमिनिस्तानले जितेको छ । आजै भएको निर्णायक खेलको पहिलो र तेश्रो सेट अफगानिस्तानले २५-२० र २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो र चौथो सेट भने तुर्किमिनिस्तानले २५-२१ र २५-२० ले जित्यो । अन्तिम सेट १५-१२ ले जित्दै तुर्किमिनिस्तान च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि अफगानिस्तान दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै, बंगलादेशलाई २५-२०, २५-२३ र २५-२० ले पराजित गर्दै श्रीलंकाले तेश्रो स्थान हासिल गरेको छ । पराजित बंगलादेश चौथो भएको छ ।

Yangle News