हिमपातका कारण फसेका १५ सय पर्यटकको उद्धार

Yangle News
Yangle News
२०८२ कार्तिक १२ गते
हिमपातका कारण फसेका १५ सय पर्यटकको उद्धार

लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५ सय पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले पर्यटकहरुको उद्धार गरेको हो ।

मनाङको तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ तथा हुम्दे इलाकाका विभिन्न स्थानमा फसेका २०० विदेशी पर्यटकसहित एक हजार ५०० जनाको उद्धार गरिएको हो । उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीको सहकार्यमा पर्यटकहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याएको थियो ।

मुस्ताङको ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको प्रवक्ता बस्नेतले बताए । उनले ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब भएका कारण केही समस्या भएको बताए ।

म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा पुगेका पर्यटक समस्यामा परेका थिए । म्याग्दीको धवलागिरि गाउँपालिका-४, मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका-२, मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि ती पर्यटक हिडन भ्यालीमा रोकिएको बताइएको छ ।

यसैबीच, मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । आज बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Yangle News

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्मको टोली खटिएको थियो । त्यस क्षेत्रमा हिमपात भएको र एक्कासी चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाएर पर्यटकलाई सहजीकरण गरेको छ । हिउँ पन्छाउनका लागि आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली परिचालित भएका छन् । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातसम्बन्धी पूर्व सूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको संख्या घट्न थालेको छ । स्वदेशी पर्यटकले खचाखच भरिएका मुस्ताङमा प्रतिकुल मौसमको सूचनासँगै पोखरा-बेनी हुँदै मुस्ताङमा प्रवेश गर्नेभन्दा फर्किने संख्या बढेको हो ।

जिल्ला प्रहरी कार्यालयको घाँसा चेकपोस्टको तथ्यांकमा कात्तिक १२ गते मंगलबार सडक सञ्जालबाट ४ हजार २ सय ३१ जना र मनाङ जिल्ला हुँदै थोरङला पासबाट १ सय ४९ जना गरी ४३ सय ८० जना मुस्ताङ प्रवेश गरेका छन् । सो सडकमार्ग हुँदै ४ हजार ९ सय ८५ जना पर्यटक बाहिरिएका छन् । कुल सवारी साधन ६ सय ९७ प्रवेश गरेकोमा घाँसाबाट ७ सय ४७ बाहिरिएकोमा उपल्लो मुस्ताङमा ११ सवारी साधन प्रवेश गरी १ सय ५५ बाहिरिएका छन् ।

Yangle News