ट्वीटरलाई टक्कर दिँदै मेटाले बिहिवार ‘थ्रेड्स’ सार्वजनिक गर्यो । ट्वीटरकै शैलीमा नयाँ प्लेटफर्म घोषणा गरेपछि यसको चर्चा अहिले विश्वभर छ ।
‘थ्रेड्स’ लन्च भएको ७ घण्टामा नै १ करोड प्रयोगकर्ताले ‘साइन अप’ गरिसकेका थिए । कहिल्यै ट्वीटर नचलाएकाहरु नै थ्रेड्समा आउन थालेपछि इलन मस्कलाई लिएर मिमहरु पनि बने ।
मस्कले पछिल्लो समय ट्वीटरमा लागू गरेका नियमहरु प्रति प्रयोगकर्ता रुष्ट छन् । त्यसैले पनि मस्कलाई पाठ पढाउन भन्दै थ्रेड्समा ‘साइन अप’ गर्नेहरु धेरै थिए ।
थ्रेड्सको डिजाइन हेर्दा ट्वीटरकै जस्तो छ । जसकारण प्रयोगकर्ताहरुले मार्क जुकरबर्गको पनि मिम बनाइरहेका छन् । उनले ट्वीटरको ‘कपी’ गरेको भन्दै आलोचना भइरहदा यता, ट्वीटरले भने मेटालाई कानुनी कारवाही गर्ने भन्दै पत्र पठाएको छ ।
ट्वीटरकी सिइओ लिन्डा याक्कारिनोले मेटाको थ्रेड्सको नाम उल्लेख नगरी उसले ट्वीटरको नक्कल गरेको आरोप लगाएकी छन् । ‘धेरैपटक हामी जस्तै देखिने प्रयास हुन्छ । तर ट्वीटर समुदायको कहिलै नक्कल हुन सक्दैन,’ उनले लेखेकी छन् । उनले ट्वीटरमा सबैको आवाजले महत्त्व राख्ने बताइन् ।
ट्वीटरले मेटालाई पठाएको पत्रमा थ्रेड्स बनाउनका लागि ट्वीटरकै पूर्व कर्मचारीहरुले कागजपत्र र प्राविधिक सामाग्रीको दुरुपयोग गरिएको उल्लेख छ। मेटाले उनीहरुकै प्रयोग गरेर मेटाले थ्रेडस बनाएर आफ्नो ‘इन्टेलेक्चयुअल प्रोपर्टी’ र ‘ट्रेड सिक्रेट’ माथि नक्कल गरेको आरोप लगाएको छ । यता मस्कले ट्वीट गर्दै मेटाले प्रतिस्पर्धा छाडेर चोरी गरेको बताएका छन् ।
मेटालाई चेतावनी दिँदै ट्वीटरले अबदेखि आफ्नो ट्रेड सिक्रेट र र गोप्य सूचना प्रयोग नगर्न भनेको छ। तर, मेटाले भने ट्वीटरको आरोपलाई खारेज गरेको छ । मेटाकी प्रवक्ता एन्डी स्टोनले थ्रेड्सको इन्जिनियरिङ टिममा ट्वीटरका पूर्व कर्मचारीहरु नरहेको दाबी गरेकी छन् ।