क्षयरोगीलाई उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण

Yangle News
Yangle News
२०८१ चैत्र १० गते
क्षयरोगीलाई उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण
निर्देशन डा. तिवारी ।

नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायराबाहिर रहेका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आज एक कार्यक्रम गर्दै नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २ सय २४ क्षयरोका बिरामी उपचारको दायराबाहिर रहेको उल्लेख गरेको छ । सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले नेपालमा वार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ हजार बिरामीको मृत्यु हुने अनुमान गरेको थियो ।

केन्द्रका निर्देशन डा. श्रीराम तिवारीले नेपालमा अनुमानित बिरामीमध्ये ४० हजार ७ सय ७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिए । उनले भने, ‘अनुमानित क्षयरोग प्रभावित बिरामी र उपचारको दायरामा आएका बिरामीको संख्यामा ठूलो अन्तर छ । हामीले ४० प्रतिशत क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नै सकिएको छैन ।’

नेपालले सन् २०३० सम्म क्षयरोग महामारीबाट अन्त्य गर्ने र २०५० सम्म क्षयरोगमुक्त नेपालमा बनाउने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनु सबैभन्दा ठूलो चुनौती रहेको अस्पतालमा छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहको भनाइ छ । उनका अनुसार केन्द्रले उपचारको पहुँच वृद्धि गर्दै लगेको छ । हाल केन्द्रले ६ हजार २ सय ४१ वटा डट केन्द्रबाट क्षयरोगको निःशुल्क औषधी वितरण गर्दै आएको छ ।

क्षयरोगका बिरामीमध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग, २८ प्रतिशत फोक्सोबाहिर अन्य अंगमा लाग्ने क्षयरोग पुष्टि भएको डा. तिवारीले जानकारी दिए । उपचारमा आएका क्षयरोगका बिरामीमध्ये ७ सय ५६ जना औषधी प्रतिरोधी रहेको तिवारीले बताए । नेपालमा क्षयरोगको उपचार सफलतादर ९२ प्रतिशत छ ।

डा. तिवारीले क्षयरोगी बिरामीहरूमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको जानकारी दिए । चौध वर्षमुनिका बालबालिकामा समेत क्षयरोगको संक्रमण बढ्दै गएको उनको भनाइ छ । क्षयरोग बिरामीमध्ये १४ वर्षमुनिका बालबालिका ८.६ प्रतिशत छन् ।