टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको एकपछि अर्को रोमाञ्चक जित

Yangle News
Yangle News
२०८२ अशोज २८ गते
टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको एकपछि अर्को रोमाञ्चक जित

आइसीसी टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराएको छ । सन्दीप लामिछानेले उत्कृष्ट पाँच विकेट लिँदै नेपाललाई रोमाञ्चक जित दिलाएका हुन् ।

जितसँगै नेपाल अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपनजिक पुगेको छ । नेपाल स्पष्ट ६ अंकका साथ हाल अंक तालिकाको दोस्रो स्थानमा छ । बुधबार शीर्ष स्थानको ओमानलाई हराए नेपालले विश्वकपमा स्थान पक्का गर्नेछ ।

ओमनको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा १४२ रनमा अलआउट भएको हो ।

कतारले पहिलो विकेटका लागि ७९ रनको उत्कृष्ट साझेदारी गरेको थियो । कतारका लागि ओपनर इमाल लियाङ्गीले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि अर्का ओपनर जुबेर अलिसँग ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिए । नेपालले खेल गुमाइसकेको अवस्थामा सन्दीपले उत्कृष्ट विकेट लिए ।

१२.२ ओभरमा कतारले १०० रन पूरा गर्‍यो । नेपालले १३.१ र १३.२ ओभरमा लगातार २ वटा रन आउटले खेलमा फर्कने मौका पाएको थियो । नन्दन यादवको बलिङमा १३.१ ओभरमा कप्तान मिर्जालाई दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटले पेभेलियन फर्कायो । उनको प्रतिस्थापनमा आएका मोहम्मद तान्भिरलाई आदिल आलमले डाइरेक्ट हिटकै मार्फत पेभेलियनको बाटो देखाएका थिए ।

१५.६ ओभरमा सन्दीप लामिछानेले नेपालको लागि पाँचौं र व्यक्तिगत तेस्रो विकेट लिए । उनले साहजैब जमिल अहमिदलाई बोल्ड आउट बनाएका हुन् । १६.२ ओभरमा कतारले छैटौं विकेट गुमायो । कतारको मिडल अर्डर केल्याप्स हुँदा ओपनर ब्याटर जुबेर अलिले सम्हालिएको पारी खेले । उनी ५२ रन बनाउँदै १८.१ ओभरमा नन्दन यादवको बलमा गुल्सन झाको हातमा क्याच भए ।

अन्तिम ओभरमा ९ रन जोगाउने जिम्मेवारी पाएका सन्दीपले अन्तिम ओभरमा २ विकेट लिँदै नेपाललाई जित दिलाए । नेपालको लागि बलिङतर्फ सन्दीप लामिछानेले ३.५ ओभरमा सन्दीपले १८ रन खर्चिर्दै ५ विकेट लिए । नन्दन यादवले २ र दीपेन्द्र सिंह ऐरीले १विकेट लिए ।

Yangle News

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाएका थिए । उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमायो । २.४ ओभरमा कुशलले ८ बलमा १ चौकासहित ६ रनमा मिर्जा मोहम्मद बैगको बलमा विकेटकिपरको हातमा क्याच भए । अर्का ओपनर आसिफ शेख १२ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए । दुवै ओपनरको विकेट मिर्जाकै नाममा रह्यो ।

पावरप्लेमा नेपालले दुवै ओपनरको विकेट गुमाउँदै ३३ रन जोडेको थियो । ६.५ ओभरमा २ रनमा क्याच मिस हुँदा जीवनदान पाएका कुशल मल्ल ७.४ ओभरमा ८ रनमा कट एण्ड बोल्ड भए । ४८ मा ३ विकेट गुमाएको नेपालले चौथो विकेटको दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ६२ रनको साझेदारी गरे । चौथो विकेटको रूपमा १४.६ ओभरमा दीपेन्द्र सिंह ऐरी क्याच आउट भए । उनले २१ बलमा २६ रन बनाए ।

पाँचौं विकेटको रूपमा आजको खेलमा मौका पाएका आदिल आलम २ रनमा कट एण्ड बोल्ड भए । छैटौं विकेटको रूपमा कप्तान रोहितको विकेट गयो । १७.१ ओभरमा सन्दीप जोरा १ रनमै बोल्ड भए । गुल्सन झा १८.४ ओभरमा ८ बलमा १६ रन बनाएर बोल्ड भए । सोमपाल कामी अन्तिम बलमा १४ रन बनाउँदै रनआउट भए । नन्दन यादव १ रनमा अविजित रहे । कतारका लागि बलिङ तर्फ डेनिअल आर्चर र मिर्जा मोहम्मद बैगले समान ३-३ विकेट लिँदा मोहम्मद असिम अलि र ओइस अहमदले १-१ विकेट लिए ।

Yangle News

नेपालले सुपर सिक्सको पहिलो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो । मंगलबार दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) नेपालसँग एक रनले स्तब्ध बनेको थियो । नेपालले सुपर सिक्सअन्तर्गत बुधबार ८:४५ बजे ओमानसँग र शुक्रबार बेलुकी ४:१५ बजे सामोआसँग खेल्ने तालिका छ ।