एसियन कप छनोटमा नेपाल पुन: पराजित

Yangle News
Yangle News
२०८२ अशोज २३ गते
एसियन कप छनोटमा नेपाल पुन: पराजित

एएफसी एसियन कप छनोट-२०२७ को तेस्रो चरणमा नेपालले पुनः पराजय बेहोरेको छ । भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियम बिहीबार राति सम्पन्न समूह ‘एफ’को खेलमा घरेलु टोलीसँग नेपाल ३-१ ले पराजित भएको हो ।

भियतनामलाई दोस्रो जित दिलाउन नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले समान एक गोल गरे । नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले गरेका हुन् ।

खेलको नवौं मिनेटमा लिङले गोल गर्दै भियतनामलाई अग्रता दिलाए । तर, आठ मिनेटमै पछि नै सनिशले नेपालका लागि बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमै टुंगिएको खेलको दोस्रो हाफमा भने भियतनाम हाबी रह्यो । मान्हले ६७औं मिनेटमा र भान भीले ७२औं मिनेटमा गोल गर्दै भियतनामको जित सुनिश्चित गरे ।

यस जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’मा दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ । लाओसले ३ अंक जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अंकविहीन छ । नेपालले यसअघि मलेसियासँग २-० र लाओससँग २-१ को हार बेहोरेको थियो ।

अब नेपालले अक्टोबर १४ मा भियतनामसँगै दोस्रो खेल खेल्नेछ ।

Yangle News