सन् २०२५ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकहरू जोन क्लार्क, मिसेल डेभोरेट र जोन मार्टिनिसले जितेका छन् ।
‘विद्युतीय सर्किटमा म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोज’का लागि उनीहरूलाई नोबेल पुरस्कार दिइएको हो । तीनैजना अमेरिकाका हुन् । ‘यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कारले क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरलगायत अर्को पुस्ताको क्वान्टम प्रविधि विकास गर्ने अवसरहरू प्रदान गरेको छ,’ पुरस्कार प्रदान गर्ने निकाय नोबेल भौतिकशास्त्र पुरस्कार रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले एक विज्ञप्तिमा भनेको छ ।
यस पुरस्कारमा कुल एक करोड १० लाख स्विडिस क्रोनरको पुरस्कार राशि छ । जुन विजेता धेरै भएमा उनीहरूबीच बाँडिन्छ । नोबेल पुरस्कार अल्फ्रेड नोबेलको इच्छापत्रमार्फत स्थापना गरिएको थियो । नोबेलले आफ्नो डाइनामाइटको आविष्कारबाट ठूलो सम्पत्ति कमाएका थिए । सन् १९०१ देखि वार्षिकरूपमा प्रदान गरिने पुरस्कार विज्ञान, साहित्य र शान्तिका क्षेत्रमा भएका उपलब्धिलाई सम्मान गरिन्थ्यो । अर्थशास्त्रलाई भने पछि थपिएको हो ।
भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता खोजले मानिसलाई पोर्टेबल कम्प्युटर, दक्ष एलईडी प्रकाश, जलवायु मोडेलिङ र क्यान्सरको विकिरण उपचारजस्ता धेरै फाइदा दिएका छन् ।
नोबेलको इच्छापत्रमा पहिलो उल्लेख गरिएको विधा भौतिकशास्त्र थियो, जसले सम्भवतः उनको समयमा यस क्षेत्रको प्रमुखतालाई प्रतिविम्बित गर्दछ । भौतिकशास्त्रमा नोबेल पुरस्कारलाई व्यापक रूपमा यस विधाको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ ।
गत वर्षको पुरस्कार कृत्रिम बुद्धिमत्ता (एआई)को बुमलाई उत्प्रेरित गर्ने मेसिन लर्निङमा भएको क्रान्तिकारी खोजका लागि अमेरिकी वैज्ञानिक जोन हपफिल्ड र ब्रिटिस-क्यानेडियन जियोफ्रे हिन्टनले जितेका थिए ।