नेपालीहरूको महान चाड बडादसैंको मुख्य दिन आज (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशिर्वाद लिइन्छ । त्यसो त मान्यजन टाढा-टाढा हुनेहरूले आज विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका लगाउन सक्छन् । बडादसैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।
समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने गरिएको हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।