नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सट्टाबाजी गराउने आठ भारतीय पक्राउ परेका छन् ।
उनीहरूलाई एनपीएलमा सहभागी भई अनलाइनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ (सट्टाबाजी) साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार तम्मिसेट्टी र सेखचन्द बसल छन् ।
उनीहरूलाई काठमाडौं महानगरपालिका-१४, बल्खुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । प्रहरीले उनीहरूबाट १५ थान मोबाइलसमेत बरामद गरेको छ । आवश्यक अनुसन्धान एवं कारबाहीका लागि पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलका सबै खेलको ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडलाई मात्र भएको स्पष्ट गर्दै आधिकारिक बाहेकका माध्यमबाट हुने डिजिटल प्रसारणलाई गैरकानुनी घोषित गरेको छ । क्यान र डिशहोमले संयुक्त रूपमा जारी गरेको सूचनामा भारतबाहेक अन्य सबै देशमा एनपीएलको ओटीटी प्रसारण DishHome Go एपमार्फत मात्रै हेर्न सकिने उल्लेख छ ।
सूचनाअनुसार नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरूको डिजिटल तथा ओटीटी अधिकार भने डिशहोमलाई पूर्ण रूपमा प्रदान गरिएको छ । त्यसैले YouTube, Facebook, TikTok, Instagram, Twitter, Telegram लगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य वेब प्लाटफर्ममार्फत खेलहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रसारण, पुनःप्रसारण, क्लिप वितरण, सम्पादन वा अन्य कुनै पनि सामग्री प्रकाशन कानूनविपरीत रहनेछ ।
क्यानले अनधिकृत स्ट्रिमिङ तथा सामग्री वितरणले प्रतिलिपि अधिकार उल्लंघन गर्ने बताउँदै यस्तो कार्य प्रचलित कानुनअनुसार दण्डनीय हुने चेतावनी दिएको छ । साथै, अनधिकृत वेबसाइट वा लिंकमार्फत खेल हेर्ने प्रयास गर्दा व्यक्तिगत तथा वित्तीय विवरण चोरी हुने जोखिमसमेत रहने हुँदा दर्शकलाई सचेत रहन आग्रह गरिएको छ ।
क्यानले विज्ञापनदाता, मिडिया पार्टनर तथा दर्शकलाई केवल आधिकारिक प्लेटफर्म DishHome Go बाट मात्र खेल हेर्न अनुरोध गरेको छ । यदि नेपाल प्रिमियर लिगका खेलहरू अन्य माध्यमबाट अवैध रूपमा प्रसारण गरिएको भेटिएमा क्यान वा DishHome लाई तुरुन्त जानकारी दिन आग्रह गरिएको छ ।