निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले छापा मारेको छ । आइतबार साँझ गरिएको छापामा केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको सीआइबी स्रोतले जनाएको छ ।
भूषण राणा नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन् । करिब एक महिनादेखि युरोपमा रहेका उनी घरमा नभएका कारण प्रहरीको टोलीले निवासमै पुगेर कागजपत्र सङ्कलन गरेको हो । स्रोतका अनुसार, घरभित्र स्रोत नखुलेको रकम तथा आर्थिक लेनदेनसँग सम्बन्धित कागजात हुनसक्ने आधारमा छापा मारिएको हो ।
भूषणमाथि ठुला ठेक्का र नियुक्तिमा डिल गर्ने गरेको भन्ने आलोचना पहिले नै हुँदै आएको थियो । साथै, आरजु राणाको आर्थिक चलखेलमा उनी सहयोगी रहेको आरोपसमेत उठ्ने गरेको छ । हाल संकलित कागजातहरूको अध्ययन गरिरहेको र प्रमाण पुष्टि भएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआइबी श्रोतले जनाएको छ ।
देउवाको बूढानीलकण्ठस्थित घरमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते ठूलो मात्रामा नगद तथा बहुमूल्य सामग्री भेटिएको थियो ।