देउवा र खड्काको घरमा ‘भेटिएका’ पैसाबारे छानबिन सुरु

Yangle News
Yangle News
२०८२ अशोज ६ गते
देउवा र खड्काको घरमा ‘भेटिएका’ पैसाबारे छानबिन सुरु
क्षतिग्रस्त देउवा निवास ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा एवं नेतृ आरजु राणा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा भेटिएको भनिएको पैसामाथि छानबिन सुरु हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा यी नेताहरूको घरमा भेटिएका र जलेका भनिएका पैसाका नोटबारे अनुसन्धान सुरु गर्न लागिएको विभागका एक अधिकारीले जानकारी दिएका छन् ।

जसअनुसार आइतबार विभागको टोली देउवा र खड्काको नेताको बूढानीलकण्ठस्थित घर पुगेको थियो । टोलीले जलेका घरमा पुगेर मुचुल्का तयार गर्नुका साथै नोटका टुक्रा र खरानी संकलन गरेको ती अधिकारीले जनाएका छन् ।

टोली अब प्रचण्डको निवासमा पनि जाने तयारीमा छ । उनको खुमलटारस्थित जलेको निवासमा छानबिन गर्न जाने तयारी गरेको जनाएको छ, जहाँ अहिले त्यहाँ प्रहरी सुरक्षा व्यवस्था गरिएको छ ।

ती अधिकारीका अनुसार आगजनीमा जलेका नोट र केही सग्ला नोट प्रदर्शनकारीले लगेको आशंका गरिएको छ । त्यसमाथि अनुसन्धान भइरहेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा नोटहरू जलेको र केही उडाइएको भनिएका फोटो, भिडियोहरू सामाजिक सञ्जालमा भाइरल छन्, यद्यपि त्यसमा सत्यता के हो भनी अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

विभागले संकलन गरेको खरानी वा टुक्रा यदि वास्तविक नोट भएको प्रमाणित भए, त्यसलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा ल्याइनेछ । राजस्व अनुसन्धान विभागले पनि यस विषयलाई ध्यानमा राखेर छानबिन सुरु गरेको छ ।