नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ ।
असोज १६ गते बिहीबार बिहान ११:५३ बजे बडादसैंको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । यस वर्षको बडादसैं असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९:१३ बजे घटस्थापनाको शुभ साइत रहेको उनले बताए ।
असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मंगलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ । असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।