नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेश विरुद्ध दबाब बनाएपनि गोल गर्न सकेन ।
खेलको सुरुवातमा बंगलादेशले गोल गर्यो । तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए । खेलको २९ औं मिनेटमा नेपालले राम्रो मौका गुमायो । मणि लामाको फ्रि-किकमा अनन्त तामाङको फ्लिकमा किपर मोहम्मद सुजोन हुसेन बाधक बने । खेलको ३९ औं मिनेटमा बंगलादेशका सुमोन रेज्जाले हानेको प्रहार क्रसबार माथिबाट बाहिरियो ।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ६८ औं मिनेटमा जिलेश्पीजंग कार्कीले हानेको लङ रेन्ज प्रहारलाई बंगलादेशका किपरले बचाए । खेलको ७६ औं मिनेटमा बंगलादेशका रकिब होसेनको पासमा सोहेल रानाको पावरफुल सटलाई गोल किपर किरण चेम्जोङले बचाए । खेल गोल रहित बराबरीमा सकियो । नेपाली राष्ट्रिय पुरुष टोलीले २१ महिनापछि दशरथ रंगशालामा पहिलो खेल खेलेको हो । यसअघि सन् २०२३ को नोभेम्बरमा नेपालल यमनसँग खेलेको थियो ।
आजको खेल हेर्न ४ हजार ८ सय ८ दर्शकले टिकट किनेको गरेको एन्फाले जनाएको छ । नेपाल र बंगलादेशबीचको दोस्रो खेल मंगलबार हुनेछ ।