हमास विद्रोहीको शक्तिशाली आक्रमणमा इजरायलमा ७ नेपाली घाइते भएको र १२ जनाको अवस्था अज्ञात रहेको परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई जनाकरी गराएका छन् । घटनामा अन्य केही हताहत भएको हुनसक्ने पनि उनले बताए । परराष्ट्रमन्त्री साउदले त्यहाँ रहेका नेपालीको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा समय लिएर बोलेका साउदले नेपालीको अवस्था पहिचान गरेर आवश्यक उद्धारको कार्य अघि बढाइएको बताए । इजरायलमा ४ हजार ५ सय नेपालीह केयरगिभरको रुपमा कार्यरत छन् ।
यसअघि आजै परराष्ट्रमन्त्री साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग भेट गरेका थिए । मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् । छलफलका क्रममा उनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी गरे । जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका थिए ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले अचानक गरेको आक्रमणमा २६ जना सेना सहित २ सय ५० इजरायलीले ज्यान गुमाएका छन् । यस्तै जवाफी कारबाहीमा २ सय ५० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा ११ सय भन्दाबढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।