उत्तराखण्डको बाढीमा २२ नेपाली सम्पर्कविहीन

Yangle News
Yangle News
२०८२ साउन २३ गते
उत्तराखण्डको बाढीमा २२ नेपाली सम्पर्कविहीन

उत्तराखण्डको धराली गाउँमा यही साउन २० गते अचानक आएको बाढीमा २२ जना नेपाली सम्पर्कविहीन भएका छन् । कामको लागि धरालीमा रहेका नेपालीहरु सम्पर्कविहीन हुन् । धादिङका चार, बर्दियाका चार, जुम्लाका एक र जाजरकोटका १३ जना सम्पर्कविहीन रहेको बताइएको छ ।

उक्त बाढीमा हालसम्म पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा नौ भारतीय सैनिकसहित ५० जनाभन्दा बढी बेपत्ता भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । भारतीय मिडियाहरूका अनुसार बाढीपछि धरालीबाट ७० जना, हर्षिलकाबाट १ सय ९० जना र गंगोत्रीबाट २ सय ७४ जनाको उद्धार गरिएको छ ।

बाढीमा परी मृत्यु हुने र उद्धार गरिएको सूचीमा हालसम्म नेपालीको नाम छैन । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतले दिएको पछिल्लो अपडेटमा मृत्यु हुने र उद्धार गरिएको सूचीमा नेपाली नागरिकको नाम परेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बाढीमा नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएकोसमेत जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएको बताएकी छन् ।

उत्तरकाशी जिल्लाको धरालीमा ‘क्लाउड ब्रस्ट’ भई गंगोत्रीको पहाडबाट बग्ने खीरगंगा नदीमा बाढी आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तीव्र गतिमा आएको बाढीले ३४ सेकेन्डमा धराली गाउँलाई पुरेको थियो ।

Yangle News