अमेरिकास्थित हुन्डाईको कारखानाबाट ३ सय कोरियालीसहित ५ सय जना पक्राउ

Yangle News
Yangle News
२०८२ भदौ २१ गते
अमेरिकास्थित हुन्डाईको कारखानाबाट ३ सय कोरियालीसहित ५ सय जना पक्राउ

अमेरिकी राज्य जर्जियामा रहेको हुन्डाईको एक कारखानाबाट झन्डै ५०० जनालाई पक्राउ गरिएको छ । अमेरिकी अध्यागमन अधिकारीहरूले छापा मारेर उनीहरूलाई पक्राउ गरिएको सीएनएनले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांश कोरियाली नागरिक छन् । हिरासतमा लिइएकामध्ये ३०० जना कोरियाली नागरिक रहेको बताइएको छ ।

यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा कार्यस्थलमा गरिएको सबैभन्दा ठूलो छापा मानिएको छ । एक वर्षदेखि सञ्चालनमा रहेको कारखाना कोरियाली कम्पनीले विद्युतीय सवारीसाधन निर्माण गर्न बनाइएको थियो ।

दक्षिण कोरियाले उक्त कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ र अमेरिकी सरकारलाई आफ्ना नागरिकहरूको अधिकारको सम्मान गर्न आग्रह गरेको छ । तर, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले ‘गैरकानुनी रोजगारी अभ्यास र अन्य गम्भीर संघीय अपराध’ गरेकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । ‘यो धेरै महिनादेखि चलिरहेको आपराधिक अनुसन्धान थियो । शुरूमा हामीले प्रमाण संकलन गर्‍यौं, अन्तर्वार्ता लिएर कागजातहरू भेला गर्‍यौं । त्यसपछि अदालतबाट खोजी वारेन्ट प्राप्त गर्नका लागि प्रमाण प्रस्तुत गरेका थियौं,’ होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सका विशेष एजेन्ट स्टिभ श्रेन्कले भने ।

पछिल्लो छापाले अमेरिकाको महत्त्वपूर्ण सहयोगी राष्ट्रसँगको सम्बन्धमा पनि तनाव उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ । तर, राष्ट्रपति ट्रम्पले पक्राउ परेकाहरू गैरकानुनी आप्रवासी भएको बताएका छन् । ‘यी (कामदार)हरू बाइडेनको समयमा आएका मानिसहरू हुन् । उनीहरू गैरकानुनी रूपमा आएका थिए,’ ट्रम्पको भनाइ छ ।

अध्यागमन अधिकारीहरूका अनुसार, यस कारबाहीमा अवैध रूपमा अमेरिकामा रहेका वा गैरकानुनी रूपमा काम गरिरहेका ४ सय ७५ जनालाई हिरासतमा लिइएको छ । उनीहरूलाई जर्जियाको फोल्कस्टनमा रहेको यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)को एक सुविधा केन्द्रमा राखिएको छ ।