बंगलादेशविरुद्ध मैत्रीपूर्ण फूटबल : घरेलु मैदानमा नेपालको लक्ष्य जित

Yangle News
Yangle News
२०८२ भदौ २० गते
बंगलादेशविरुद्ध मैत्रीपूर्ण फूटबल : घरेलु मैदानमा नेपालको लक्ष्य जित

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले घरेलु मैदानमा २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालमा २ मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको बंगलादेश घरेलु टिमविरुद्ध जित निकाल्न चाहन्छ ।

शुक्रबार आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपालका प्रशिक्षक म्याट रोसले नेपाली टिम जितको लागि मैदानमा उत्रने बताए । नेपाली टिम मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै त्यही उत्साह लिएर एएफसी एसिया कप छनोट खेल्न चाहेको प्रशिक्षक रोसको भनाई छ । नेपालले २०२३ को नोभेम्बरयता घरेलु दर्शकको साथमा खेल खेल्न पाएको थिएन । घरेलु दर्शकको साथमा मैदानमा उत्रन आफूहरू निकै उत्साहित रहेको कप्तान किरण चेम्जोङले बताए ।

नेपालको टिममा डिफेन्डर सनिश श्रेष्ठलगायत यु-२३ टिममा रहेका आयुष घलान, कृतिश रत्न छुन्जु, सुमित श्रेष्ठ छैनन् । तर, नेपाली टिममा युवा खेलाडीहरू बढिरहेका छन् । यु-२० टिमका कप्तानको रूपमा उमेर समूहको खेल खेलेका कुशल देउवा, सुवास बमजस्ता खेलाडी रहेका छन् ।

नेपाल र बंगलादेशले हालसम्म २४ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । जसमा नेपालले १३ खेलमा जित र ३ बराबरीमा सकेको छ भने ८ खेल बंगलादेशले जितेको छ । दशरथ रंगशालामा नेपाल र बंगलादेशले ८ खेल खेलेका छन्, जसमा नेपालले ४ खेलमा जित निकालेको छ ।

बंगलादेशी टिमका प्रशिक्षक जेभियर क्याबेराले नेपाल आएर खेल्नु निकै राम्रो तयारी रहेको बताए । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएको बंगलादेशी टिमले आफ्नो पहिलो रोजाईको टोली नै नेपाल लिएर आएको प्रशिक्षक क्याबेराको भनाइ छ । कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए ।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार साँझ ५:३० मा दशरथ रंगशालमा सुरु हुनेछ । खेलमा ९ हजार सामान्यतर्फ र १ हजार भिआइपीए टिकट बिक्री हुने एन्फाले जानकारी दिएको छ । भिआइपीतर्फको टिकटको मूल्य १ हजार र सामान्यतर्फको टिकटको मूल्य ५ सय तोकिएको छ ।