‘संखुवासभा प्राकृतिक, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा देशकै नमूना’

Yangle News
Yangle News
२०८२ भदौ १२ गते
‘संखुवासभा प्राकृतिक, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा देशकै नमूना’

राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभा प्राकृतिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा देशकै नमूना जिल्ला रहेको भन्दै विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने उनले धारणा राखे ।

किमाथांका नाका, अरुण तेस्रो जलविद्युत आयोजना, माथिल्लो अरुण लगायतका आयोजनाहरूको विकास गरेर मुलुकले समृद्धि हासिलमा थप टेवा पुग्ने राष्ट्रपति पौडेलले बताए । मादी विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै शिक्षालाई समयानुकूल र जीवनोपयोगी बनाउँदै युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्नु पर्ने उनले बताए ।

संखुवासभाको मादी नगरपालिकास्थित मादी माध्यमिक विद्यालयको हीरक महोत्सवमा आज राष्ट्रपति पौडेलले सरकारले सुशासन र सेवा प्रवाहमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । उनले जनताको भाग्य र भविष्यको फैसला आफैँ गर्ने व्यवस्था नै लोकतन्त्र भएकोले यसको कुनै विकल्प बताए ।

उनले सबै लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने पनि बताएका छन् । पछिल्लो समय शासन सञ्चालनमा देखिएका केही कमीकमजोरी र ढिलासुस्तीलाई देखाएर व्यवस्थामाथि नै भ्रम सिर्जना गर्न केही शक्ति लागेको उल्लेख गर्दै उनले लोकतन्त्रवादी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका संखुवासभाबाट निर्वाचित जनप्रतिनिधि एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले मादी विद्यालयले हीरक महोत्सव मनाउनु र राष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वको उपस्थिति हुनु जिल्लाकै गौरवको विषय भएको बताए ।

उनले शिक्षा क्षेत्रमा संखुवासभा अब्बल जिल्लाको रूपमा स्थापित रहँदै आएको तथा स्रोत र साधनका हिसाबले पनि अत्यन्तै सबल र सम्पन्न जिल्ला भएको भन्दै शिक्षा क्षेत्रमा मादी माविले पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गरे ।

सो अवसरमा विद्यालयमा विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

Yangle News