साफ यू-१७ महिला च्याम्पियनसीप : नेपालको उपाधि सम्भावना समाप्त

Yangle News
Yangle News
२०८२ भदौ ११ गते
साफ यू-१७ महिला च्याम्पियनसीप : नेपालको उपाधि सम्भावना समाप्त

नेपाल साफ यु-१७ महिला च्याम्पियनसीपको उपाधि होडबाट बाहिरिएको छ । आज दुई पटकको विजेता बंगलादेशसँग ४-१ ले पराजित भएसँगै नेपालको उपाधि सम्भावना समाप्त भएको हो ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई शीर्ष स्थानमा पुग्न जित अनिवार्य थियो । तर नेपाल खेलमा बंगलादेशसामु सुरुवातदेखि नै कमजोर देखियो ।

३८औं मिनेटमा एकल प्रयासमा थुइननुयी मार्माले गोल गरिन् । बंगलादेशले पहिलो हाफको अन्त्यमा अग्रता दोब्बर बनायो । मानोमी चक्माको क्रसमा बक्सभित्रबाट सौरवी अकान्डा प्रीतिले गोल गरिन् ।

२-० ले पछि परेको नेपालले पहिलो हाफको इन्ज्युरी समयमा एक गोल फर्कायो । बतिकाको कर्नरमा क्लियर हुन नसकेको बलमा कप्तान भूमिका बुढाथोकीले गोल गरिन् । पहिलो हाफ बंगलादेशको पक्षमा २-१ को नतिजामा सकियो ।

दोस्रो हाफको सुरुमै भूमिकाले बराबरी गर्ने अवसर गुमाइन् । उनको प्रहार पोस्ट नजिकबाट बाहिरियो । खेलको ७१औं मिनेटमा बंगलादेशले तेस्रो गोल गर्‍यो । मामोनी चक्माको क्रसमा सौरवीले व्यक्तिगत दोस्रो गोल गरिन् ।

बंगलादेशले ३-१ को आरामदायी अग्रता बनायो । ८६औं मिनेटमा पूर्णिमा मार्माको पासमा सौरवीलेन गोल गर्दै ह्याट्रिक पूरा गरिन् । योसँगै बंगलादेशले ४-१ को जित हात पारेको छ ।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरमा हार्दा दोस्रो खेलमा घरेलु टोली भुटानलाई २-१ ले हराउन सफल भएको थियो । तेस्रो खेलमा बंगलादेशसँग ३-० को हार बेहोरेको थियो । ४ खेलमा नेपालले मात्र ३ अंक बनाएको छ ।

बंगलादेशले यसअघि भुटानलाई ३-१ र नेपाललाई ३-० ले हराउन सफल भैसकेको छ । भारतसँग भने २-० को हार बेहोरेको थियो । ४ खेलमा बंगलादेशले ९ अंक जोडेको छ । शतप्रतिशत जित हासिल गरेको भारत १२ अंकसहित शिर्षस्थानमा छ ।

अब नेपालले पाँचौ राउण्डको खेल अगस्ट २९ मा भारत र छैटौं राउण्डको खेल अगस्ट ३१ भूटानविरुद्ध खेल्नेछ । यी दुवै खेल जिते पनि नेपालको उपाधि हासिल गर्ने सम्भावना भने रहँदैन ।

प्रतियोगितामा दक्षिण एसियाका ४ राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले सहभागिता जनाएका छन् ।‌ डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन् । अंक तालिकाको शीर्षस्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।