महानायक राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवं लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएको छ । यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो । हमालले आफूले पुस्तकमा बाल्यकाल, युवा अनि हालसम्मका सबै उतारचढाव एवं कहानी प्रस्तुत गरेको बताए । उनले आफ्नो अर्को भेट नारायणगढमा हुने समेत जानकारी दिए ।
कार्यक्रममा लेखक बुद्धिसागरले पनि पुस्तक पठनीय र अझ फराकिलो गरी अभिनेता हमाललाई बुझ्न सकिने बताए । लेखक यज्ञशले लेखनका निम्ति तीन वर्ष लागेको यो पुस्तक बडो मिहिनेतसाथ तयार पारेको बताए ।
विमोचनका दिन शनिबार लोकार्पणस्थलमा पुगेर नाम दर्ता गराउने पहिलो २५ जनालाई हमालको हस्ताक्षर सहितको पुस्तक उपहारस्वरूप दिइएको थियो ।