रवि लामिछाने नख्खु कारागार स्थानान्तरण

Yangle News
Yangle News
२०८२ साउन ३१ गते
रवि लामिछाने नख्खु कारागार स्थानान्तरण

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गरिएको छ ।

भैरहवा विमानस्थलबाट सवा ५ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याइएका उनलाई आयल निगमको बाटोबाट नख्खु पुर्‍याइएको थियो । विमानस्थलमा उनका केही समर्थक भेला भएका थिए । उनीहरू पर्खेर बसेको बाटोभन्दा फरक बाटो प्रयोग गरेर लामिछानेलाई विमानस्थलबाट नख्खु कारागारतिर लगिएको थियो ।

ललितपुरको नख्खुमा रविप्रति सद्भाव दर्शाउन उनकी श्रीमती निकिता पौडेलसहित केही सांसद र समर्थक भेला भएका थिए । लामिछानेलाई कारागार परिसरमा प्रवेश गराइएपछि रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए ।

गत २५ चैतदेखि लामिछाने भैरहवा कारागारमा थिए । उनकै मागअनुसार नख्खु कारागार सारिएको हो । उनी अहिले बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी गरेको मुद्दाका अभियुक्त हुन् । उनीविरुद्ध अरु चार वटा जिल्लामा सोही प्रकृतिको मुद्दा चलिरहेको छ ।