एन्फा महिला लिग छनोटको तयारी पूरा

Yangle News
Yangle News
२०८२ साउन २८ गते
एन्फा महिला लिग छनोटको तयारी पूरा

अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले महिला लिग छनोटको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

बिहीबारबाट सुरु हुने छनोट प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले तथा समूह ‘बी’मा न्युरोड टिम (एनआरटी), संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।

यसअघि असार पहिलो साता एन्फाले महिला लिग छनोट खेल्ने १६ टिमको नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा रहेकामध्ये चित्लाङ एफसी र कन्काइ खेलकुद प्रतिष्ठानले समयमा कागजात नबुझाएपछि प्रतियोगिता खेल्न नपाएको हो ।

हरेक समूहमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली सिधै मुख्य प्रतियोगिताका लागि छनोट हुनेछन् । यसैगरी तेस्रो स्थानमा रहने टोलीबीच प्लेअफ हुनेछ । जसको विजेताले पनि महिला लिग खेल्नेछ ।

कूल ४३ खेल हुने प्रतियोगिताका खेलहरु च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सञ्चालन हुनेछन् । उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्नेछन् । यो खेल एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । ४:१५ मा सुरु हुने दोश्रो खेलमा संकटा र नेपाल खेलकुद क्लब भिड्नेछन् ।

प्रतियोगिताको अनुमानित बजेट ८९ लाख ७३ हजार रुपैयाँ रहेको छ । एन्फाले प्रतियोगितामा सहभागी टोलीलाई ५० हजार तयारी खर्च तथा १० हजार रुपैयाँ ‘म्याच फी’का रुपमा उपलब्ध गराउनेछ ।