वर्षाका कारण आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Yangle News
Yangle News
२०८२ साउन १२ गते
वर्षाका कारण आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
फाइल तस्बिर ।

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी-जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।