नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यसै महिना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सन साउन २४ मा हुने जनाएको हो । क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म ५ सय ५८ खेलाडी अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम सबै ८ फ्रेन्चाइजी टोलीलाई पठाइसकेको क्यानले बताएको छ ।
एनपिएलमा सहभागी रहने ८ टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सुची केही दिनमा जारी गरिने क्यानले उल्लेख गरेको छ ।
एनपीएलका लागि आठवटै टोलीले आ-आफ्ना रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन् । ती आठवटा टिमले पहिलो सिजनमा खेलेका मार्की खेलाडी र अन्य केही खेलाडीलाई टिममा यथावत राखेका छन् । अब टिम पूरा गर्न अक्सनमार्फत खेलाडीलाई अनुबन्धन गर्नेछन्।
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर-डिसेम्बरमा गर्ने तय भएको छ ।