संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायको निष्कृयताले गाजामा मानवतामाथि भइरहेको अपराध शब्दमा बयान गर्न नसकिने खालको भएको बताएका छन् । उनले भने ‘धेरै पक्षबाट देखिएको उपेक्षा र निष्क्रियता, करुणाको अभाव, सत्यको अभाव, र मानवताको अभावलाई म शब्दमा वर्णन गर्न सक्दिनँ ।’
एम्नेस्टी इन्टरनेशनलको विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, २७ मे यता जब अमेरिकी र इजरायली समर्थनमा गाजा मानवीय फाउन्डेशन (जीएचएफ) ले संयुक्त राष्ट्र नेतृत्वको प्रणालीको सट्टा राहत वितरण गर्न थालेको थियो त्यतिबेलादेखि हालसम्म खाना खोज्ने क्रममा एक हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ ।
गाजामा एकतिहाइ मानिसहरु कयौं दिनदेखि खानाको लागि तड्पिरहेको राष्ट्रसंघीय खाद्य कार्यक्रमले जनाएको छ । उसका अनुसार प्रत्येक तीनमध्ये करिब एक जना मानिस दिनौंदेखि भोकै बस्न बाध्य छन् ।
कार्यक्रमका अनुसार ‘कुपोषण तीव्र रूपमा बढ्दैछ, करिब ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको खाँचो छ ।’ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले एक विज्ञप्ति जारी गर्दै अवस्था भयावह बनिरहेको उल्लेख गरेको छ ।
यस हप्ता गाजामा भोकमरीको चेतावनीहरू थप तीव्र बनेका छन् । शुक्रबार मात्रै नौ जनाको कुपोषणका कारण मृत्यु भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको संख्या १ सय २२ पुगिसकेको छ ।
गाजामा सम्पूर्ण आपूर्ति प्रवेशलाइ आफ्नो नियन्त्रण राखेको इजरायलले राहत सामग्री प्रवेशमा कडाइ र नियन्त्रण गर्दा अवस्था भयावह बनेको हो । यद्यपि इजरायलले भने राहत सामग्री प्रवेशमा कुनै रोक नलगाएको जनाएको छ । उसले कुपोषणको लागि हमासलाई दोष दिएको छ ।
इजरायली सुरक्षा अधिकारीले केही दिनभित्र गाजामा राहत सामग्री हवाई माध्यमबाट झार्न अनुमति दिइन सक्ने बताए पनि तत्काल उक्त कार्य नगरे अवस्था भयावह हुने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । यद्यपि सहायता संस्थाहरूले यसअघि यस किसिमको आपूर्तिलाई प्रभावहीन बताउँदै आएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरूले संयुक्त अरब इमिरेट्स र जोर्डनले पछिल्लो राहत सामग्री हवाईमार्फत झार्ने तयारी गरिरहेको जनाए पनि जोर्डनका एक वरिष्ठ अधिकारीले त्यसका लागि इजरायलबाट अझैसम्म अनुमति प्राप्त नभएको बताए ।
संयुक्त राष्ट्रसंघले यस कदमलाई इजरायली सरकारको निष्क्रियता ढाकछोप गर्ने ‘ध्यान भंग गराउने काम’ भनेको छ । यो घटना गाजामा बढ्दो मानवीय संकटका सन्दर्भमा अन्तर्राष्ट्रिय चिन्ताबीच आएको हो ।
शुक्रबार जर्मनी, फ्रान्स र बेलायतले संयुक्त वक्तव्य जारी गर्दै इजरायललाई ‘गाजामा राहत सामग्रीको आपूर्तिमा लगाइएको रोक तुरुन्त हटाउन’ आह्वान गरेका थिए । उनीहरूले गाजामा देखिएको ‘मानवीय विपत्तिको तुरुन्त अन्त्य’ र युद्धको अन्त्यको माग गर्दै भनेका छन् कि इजरायलले ‘अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गतका आफ्ना दायित्वहरू पूरा गर्नु पर्ने’ भनेका छन् । ‘नागरिकलाई अत्यावश्यक मानवीय सहायता नदिनु अस्वीकार्य हो,’ वक्तव्यमा भनिएको छ ।