नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आर्थिक वर्ष २०७७\७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०७८\७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आर्थिक वर्ष २०७९\८० को प्रारम्भिक कूल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको प्रवक्ता रमेश पौडेलले बताए । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।
पछिल्लो आठ वर्षयता निगमसँग उडानका लागि अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज छन् । उपलब्ध जहाज तथा साधन स्रोतको उचित प्रयोगबाट यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार माग अनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।