मधेसमा ५ सय डिप बोरिङ जडान गर्ने घोषणा

Yangle News
Yangle News
२०८२ साउन १० गते
मधेसमा ५ सय डिप बोरिङ जडान गर्ने घोषणा
पानी नपरेपछि मधेशका सुख्खा खेत । (तस्बिर श्रोत: प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय)

प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेस प्रदेशमा तत्कालीन समस्या समाधानका लागि ५०० डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री ओलीले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने बताए ।

उनले पानीको अभावका कारण मधेस सुक्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको उल्लेख गरे । सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको स्पष्ट पारे ।

चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको बताए । सरकारको तर्फबाट मधेसमा पानीको समस्या समाधान गर्न सबै सरकारी निकाय, गैरसरकारी निकायहरूलाई आग्रह गरे ।

‘मधेस सुक्खाग्रस्त छ । पानीको अभावको कारणले सुक्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौं । संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायबाट काम गर्नेछौं । चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान गर्नेछौं । एउटाले लगभग ६० बिघा जमिन सिँचाइ गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले आठवटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

Yangle News
पानी नपरेपछि मधेशका सुख्खा खेत । (तस्बिर श्रोत: प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय)