टर्कीविरुद्ध सशस्त्र संघर्ष गरिरहेका कुर्दिश विद्रोहीले निशस्त्रीकरण समारोहबीच आफ्ना हतियार बिसाउने भएका छन् ।
कुर्दिश विद्रोहीहरूले टर्की राज्यविरुद्ध दशकौं लामो सशस्त्र संघर्ष समाप्त गरेको दुई महिनापछि इराकी कुर्दिस्तानमा एक समारोहबीच पीकेके लडाकुहरूले हतियार बिसाउन सुरु गर्नेछन् ।
यो समारोहले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)को सशस्त्र विद्रोहबाट लोकतान्त्रिक राजनीतिमा संक्रमणको एउटा महत्वपूर्ण मोड सुरु हुने भएको जनाइएको छ ।
सन् १९७० को दशकको अन्त्यतिर अब्दुल्लाह ओकालानद्वारा स्थापित पीकेकेले सन् १९८४ मा हतियार उठाएको थियो । जसले टर्कीको भूमिमा रक्तपातपूर्ण आक्रमणहरूको श्रृंखला सुरु गर्यो । यो द्वन्द्वले ४० हजारभन्दा बढीको ज्यान लिएको थियो ।
चार दशकपछि पीकेकेले ‘मे’ महिनामा आफ्नो विघटनको घोषणा गरेको थियो । उसले भनेको थियो- यो सशस्त्र संघर्षको समाप्तिले सन् १९९९ देखि टर्कीमा आजीवन कारावासको सजाय भोगिरहेका ओकालानको ऐतिहासिक आह्वानअनुरूप कुर्दिश अल्पसंख्यकको अधिकारको रक्षा गर्ने साथै लोकतान्त्रिक संघर्षलाई अगाडि बढाउनेछ ।