विभिन्न राजमार्गका ७ वटा सडक खण्ड पूर्ण अवरुद्ध

Yangle News
Yangle News
२०८२ असार २१ गते
विभिन्न राजमार्गका ७ वटा सडक खण्ड पूर्ण अवरुद्ध
फाइल तस्बिर ।

वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बाढी र पहिरोका कारण संखुवासभा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१, छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका-६, रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ ।

त्यस्तै, जाजरकोटको पहिरोका कारण छेडागाड नगरपालिका-३, दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका-७, ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी-कोल्टी सडक पूर्ण रूपमा बन्द भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले उल्लेख गरे ।

प्रहरीका अनुसार पहिरोले अवरुद्ध भएको बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । त्यस्तै, गुल्मीस्थित कालिगण्डकी करिडोर रोल्पाको परिवर्तन गाउँपालिका-५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको सहिद मार्ग एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

यस वर्षको मनसुन अवधिमा साविकभन्दा बढी बर्षा हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट ४ चार परिवारका करिब २० लाख मानिस प्रभावित हुने प्रक्षेपण गरेको छ ।

41 views