नेपालले एसिसी यू-१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ । सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिंगापुरले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाउँदै १ सय १७ रन बनाएको हो । नेपालका लागि जोय थापाले अविजित २४, शिवान्स बजगाईँले २०, शुभम खनालले १८, प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले अविजित १० रन बनाए । सिंगापुरका लागि कपसि वेंकटेशरमनले चार, युभान पाण्डेले दुई तथा वेदान्श गुप्ता र आकश तेजाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रनको योगफल तयार पारेको थियो । सिंगपुरका लागि रोहन अस्टिन अरुणले २३, कप्तान रियान नाइकले १५, वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए । नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन, शुभम खनालले दुई तथा कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिए ।
नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटान तथा सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पराजित गरेको थियो । सेमिफाइनलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो । सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना हुँदै आएको थियो । नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।