लघुवित्त पीडितहरूले आफूहरूले राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने उनले चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब कडा आन्दोलन गर्ने चेतावनी दिए । आफूहरुको मागलाई सरकारले सम्बोधन गर्नुको सट्टा दमन गरेको उनीहरुले आरोप लगाएका छन् ।
आफूहरूका शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए । उनले भने, ‘आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै पनि हारेको इतिहास छैन । न्यायिक लडाइँमा शासकहरूलाई घुँडा टेक्न बाध्य बनाउँछौं ।’
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरूसँग पटक-पटक भएका सम्झौताहरूलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैरन्यायिक कार्य भएको बताए ।
उनले बैशाख ४ गते सम्पूर्ण पीडितहरू सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने जानकारी दिए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौंदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।