पर्यटन प्रवर्द्धनमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण रहेको नगरकोटका पर्यटन व्यवसायीले बताएका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चारिका समूह नेपाले आयोजना गरेको ‘महिला पर्यटन व्यवसायीको संघर्ष र सफलतामा महिला पत्रकारको भूमिका’ विषयक एकदिने अन्तरक्रियामा व्यवसायीले महिला पत्रकारहरूले कुनै पनि विषयलाई गहन रुपमा लिने भएकाले नगरकोट पर्यटनको विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका हुन् ।
कार्यक्रममा नगरकोट नालुङ पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले भने, ‘सधैँभरि पुरुष पत्रकारहरू आउनुहुन्थ्यो यस पटक महिला पत्रकारहरूको समूह नगरकोट एक साथ देख्दा खुसी लागेको छ,’ कुनैपनि विषयलाई महिलाले गहन रुपमा लिनुहुन्छ, त्यसैले पर्यटन प्रवर्द्धनमा पनि यहाँहरुको भुमिका महत्त्वपूर्ण हुन्छ भन्ने मलाइ लाग्छ ।’
उनले नगरकोटका विभिन्न क्षेत्रको इतिहास बताउँदै नगरकोट क्षेत्रमा पर्यटकका लागि साधारणदेखि महँगा र सुविधा सम्पन्न होटल, रेष्टुराँ तथा लजहरू रहेको जानकारी दिए । अध्यक्ष गुरुङले नगरकोटको समृद्ध पर्यटकीय पृष्ठभूमिबारे जोड दिँदै भने, ‘नगरकोटमा धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्व बोकेका थुप्रै पर्यटकीय स्थल, नगरकोट धार्मिक, भाषिक र सांस्कृतिक विविधता रहेको र यस क्षेत्रका धार्मिक सांस्कृतिक ठाउँलाई एक वा दुई दिनको बसाइ कम पर्ने हुँदा केही दिन घुमेर मात्र यहाँको वास्तविक सौन्दर्यतामा रमाउन सकिन्छ । यस्ता सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अबको प्राथमिकता त्यसलाई गहिराइमा पुगी पत्रकारहरूले त्यसको प्रचारप्रसारमा सहयोग गरे नगरकोटको समग्र पर्यटन क्षेत्र थप समृद्ध बन्नेछ भन्ने हाम्रो अपेक्षा हो ।’
नगरकोट क्षेत्रकी महिला पर्यटन व्यवसायी लक्ष्मी गुरुङले आफूले दुई रुपैयाँ कपको चियाबाट सुरु गरेको व्यवसाय अहिले करोडको सम्पत्तिमा रूपान्तरण भएको अनुभव सुनाउँदै आत्मीय सेवा, अर्ग्यानिक खाना तथा स्थानीय संस्कृतिको महत्त्वबारे प्रकाश पारिन् ।
२७ वर्षदेखि पर्यटन व्यवसायीकामा धेरै अनुभव हासिल गरेकी महिला पर्यटन व्यवसायी रेनु तामाङले पर्यटन व्यवसाय नै आफ्नो जीविकोपार्जनको माध्यम भएको भएकाले यसैमा रमाउने गरेको बताइन् । उनले चिया पसलबाट सुरु भएको आफ्नो संघर्षपूर्ण यात्रा अहिले रेष्टुरेन्ट र होटलमा परिणत भएको बताउँदै आफू पारिवारिक सहयोग र परिश्रमकै कारण सफल भएको बताइन् ।
पर्यटन प्रहरी सन्तोष नेपालले नगरकोटमा आउने बाह्य पर्यटकको जिम्मेवारीलाई गहन रुपमा लिने गरेको बताए । उनले भने, ‘यहाँ आउने पर्यटकले केही सामान्य समस्या बाहेक त्यस्तो ठूलो खालको आपराधिक, अप्रिय घटना घटेको छैन । एकाध पर्यटकका पासपोर्ट तथा मोबाइल हराउने, कहिलेकाही ओभर स्टेको समस्या तथा मानसिक रुपले समस्या भएका विदेशी पाहुनाहरु आएका पनि धेरै जटिल समस्या छैन ।’
सञ्चारिका समूहको पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले सञ्चारकर्मीहरूका लागि नगरकोटले एउटा फरक अभ्यासको थलो बनेको बताइन् । उनले भनिन्, ‘महिला पत्रकारहरू अब केवल घटना कभरेजमा सीमित छैनन्, उनीहरू विश्लेषक, सम्पादक र स्टोरी मेकिङमा दख्खल राख्न सक्ने भएका छन् ।’
सञ्चारिकाका अध्यक्ष कमला पन्थीले पर्यटन प्रवर्द्धनमा महिला पत्रकार र व्यवसायीको सहकार्यले समावेशी पर्यटन विकासमा योगदान पुर्याउने बताइन् । उनले पर्यटन व्यवसायीलाई पत्रकार महिलाको साथ सदैव रहने विश्वास व्यक्त गरिन् ।
सोही अवसरमा सञ्चारीका समूह नेपालले आफ्नो आगामी पाँच वर्षे रणनीतिक योजना तयारीका बारेमा छलफल समेत गरेको छ । छलफलमा पूर्वअध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत, प्राध्यापक भीम भुर्तेल, अधिवक्ता सन्तोष सिग्देल, अधिवक्ता लक्ष्मी पोख्रेल लगायतका विज्ञहरूले सुझाव दिएका थिए । कार्यक्रम नगरकोटका पर्यटन व्यवसायी, पर्यटन प्रहरी र पत्रकारहरूको सहभागिता थियो ।