राजावादीहरूले भोलि (सोमबार) काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रका लागि गठित संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गरेर जेठ १९ गते उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।
समितिका संयोजक नवराज सुवेदीले आइतबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको आरोप लगाएका छन् । ‘संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, दीपक सिंहलगायत हाम्रा सबै आन्दोलनकारी सहयोद्धाहरूलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदी जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित प्रहरी नियन्त्रणमा रहेका छ जना थुनामुक्त भएका छन् । ‘चर्को बोलेको’ आरोपमा पक्राउ परेका दीपक सिंहलाई पनि थुनामुक्त गरिएको छ । थापा दिउँसो पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका छ जनालाइ थुनामुक्त गरिएको जनाइएको छ ।
डा. राजीव झाले भने मापसे गरेको पाइएको भन्दै हिरासतमै राखिएको प्रहरीले जनाएको छ । उनीमाथि मापसे गरेर प्रहरीलक्षित जथाभावी अभिव्यक्ति दिएको आरोप छ ।
आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विज्ञप्ति :