नेपालमा पछिल्लो एक हप्तामा कम्तीमा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै काभ्रेका हुन् ।
उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको हो । यद्यपि उनीहरूलाई देखिएको भाइरस नयाँ भेरियन्ट हो वा पुरानो भेरियन्ट भन्नेबारे केही थाहा भएको छैन ।
भारतलगायत छिमेकी मुलुकहरूमा कोरोना भाइरस फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको जानकारी गराएको छ । पछिल्लो समय कोरोना भाइरससम्बन्धी चेकजाँच बढाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई कोरोना संक्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन मन्त्रालयले अपील गरेको छ । कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयको आग्रह छ ।