सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो ।
यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. पूर्वसचिव दिनेश भट्टराई थिए । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले भने, ‘उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेको नेतृत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा तीन जना व्यक्तिहरु डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. दिनेश भट्टराई पूर्वसचिव तीन जना सिफारिस गरेकोमा डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको तीन जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेको छ ।’ मन्त्री गुरुङले लामो प्रतिक्षपछि गभर्नरको विषय टुंगिएको बताए ।
नवनियुक्त गभर्नर पौडेल एक अर्थशास्त्री हुन् । उनले चीनको शाङ्हाईस्थित विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, त्यसपछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) हासिल गरेका हुन् ।
उनको पेशागत यात्रा विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ता संस्थामा नेपाल प्रतिनिधिका रूपमा समेत काम गरेका छन् । साथै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अर्थ मन्त्रालयमा नीति सल्लाहकारका रूपमा पनि काम गरेका थिए ।
राजनीतिक रूपमा, उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए, तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भए ।