कार्यवाहक गभर्नरको भूमिकाप्रति कर्मचारी संघको आपत्ति

Yangle News
Yangle News
२०८२ बैशाख २३ गते
कार्यवाहक गभर्नरको भूमिकाप्रति कर्मचारी संघको आपत्ति

नेपाल राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंक कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाको भूमिकामाथि प्रश्न उठाएको छ । संघले मंगलबार एक विज्ञप्तिमार्फत राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नगरिएकोप्रति आपत्ति जनाएको हो ।

‘आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामासमेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ र नेतृत्वको नैतिकता एवं क्षमतामा नै प्रश्न उठेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

संघले गभर्नर नियुक्तिमा भएको ढिलासुस्तीले लज्जाबोध भएको बताएको छ । गभर्नर नियुक्त नहुँदा वित्तीय क्षेत्रको नियामक राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सीमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बन्ने सम्भावना बढेको संघले बताएको छ ।

‘सामान्य निर्णयहरूबाहेक नीतिगत निर्णय हुन नसकिरहेको अवस्था छ । बजेट निर्माणको समयमा सरकारको आर्थिक सल्लाहकारको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा केन्द्रीय बैंकको भूमिका प्रभावहीन देखिन्छ । यस सन्दर्भमा विद्यमान चुनौतीहरूलाई सहज रूपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरको रूपमा नियुक्ति गर्न हामी जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

संघले केन्द्रीय बैंकलाई नेतृत्वविहीन राख्न गभर्नर नियुक्तिमा षड्यन्त्रपूर्वक ढिलासुस्ती गरिएको आरोपसमेत लगाएको छ ।

विज्ञप्ति:

Yangle News