अमेरिकाले युक्रेनको प्राकृतिक संशाधन प्रयोग गर्न पाउनेगरी दुई देशबीच सम्झौता भएको छ ।
अमेरिकाको अर्थ विभागले विज्ञप्ति जारी गरी युक्रेनका लागि पुननिर्माण लगानी कोष बनाउनेगरी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको छ । सम्झौतामा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताअनुसार अब अमेरिकाले युक्रेनको दुर्लभ खनिजमा पहुँच पाएको छ । खासगरी पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारका पालामा अमेरिकाले युक्रेनलाई रुससँगको युद्ध लड्नका लागि ३५० अर्ब डलर बराबरको सहयोग गरेको थियो ।
यसको बदलामा अमेरिकाले युक्रेनी खनिजमा आफ्नो पहुँच हुनेगरी सम्झौता गरेको हो । तर सम्झौता दुवै पक्षको हितलाई केन्द्रमा राखेर गरिएको बताइएको छ । अमेरिकाले यो सम्झौताअनुसार किएभको पुननिर्माणमा ध्यान दिने बताएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनसँगको खनिज सम्बन्धले अमेरिकालाई ठूलो फाइदा हुने बताएका छन् ।